पुषको महिना थियो। जाडो बिदामा सहरबाट कतै टाढा जान मन भएकोले कृष्ण र अमरसँग सल्लाह गरेर चितवन जाने योजना बनाएँ। केही दिनमै हाम्रो जाडो बिदा सुरु भयो। कृष्ण र अमरले उनीहरुको प्रेमिका अन्जु र प्रियंका पनि हामीसँगै जाने कुरा बताए| उनीहरुको कुरा मलाई चित्त बुझेको त थिएन तर हुन्छ भने। दिउँसोको करिब ३ बजे हामी कलंकीमा भेटेर चितवन जाने बस चढ्यौँ| लामो समयको यात्रा पछि हामी हाम्रो गन्तव्यमा पुग्यौँ। रातिको ८ बजेको थियो, अन्जुले चिनेको मान्छेको लज भएकोले हामीलाई रुम पाउन गाह्रो भएन। खाना खाएपछि आ-आफ्नो कोठातिर लाग्यौँ।
शरीर थाकेको थियो तर निन्द्र भने पटक्कै लागेको थिएन। सायद ओछ्यान पनि फेरिएर होला। उता कृष्ण र अमर चाहिँ मस्तले निदाउदै थिए। जति प्रयास गर्दा पनि निदाउन नसकेपछि म उठेर कौसीतिर गएँ। जाडो महिनाको चिसो हावाले सुरुमा त आनन्द भएको थियो तर बिस्तारै शरीर काम्न थाल्यो। तल जानु पर्ला भनेर सोच्दै थिएँ तर एक्कासी केही आवाज सुने झैँ लाग्यो। पछाडी फर्किएर हेर्दा एउटा सानो फुच्ची देखेँ। ऊ हेर्दा अत्ति मायालु थिई|
“तिम्रो नाम के हो नानु?” म उसको नजिक गएर सोधेँ।
“मेरो नाम आस्ना हो।” उसले मिठो स्वरमा उत्तर दिई।
“यति राती यहाँ किन आएको?”
“तपाई आउन हुने म चाहिँ आउन नहुने?” उसले हाँस्दै मलाई उल्टै प्रश्न गरी।
“तिमी यहीँ बस्छौ?”
“हजुर म यहीँ बस्छु।”
“तिमी आफ्नो ममी ड्याडीलाई नभनिकन यहाँ आएकी हौ?”
“मेरो ममी, बाबा र दादा त दशैँमा प्लेनबाट आउने बेला प्लेन खसेर मर्नुभयो|” उसले निन्याउरो मुख लगाउँदै भनी।
उसको त्यो कुरा सुनेपछि मलाई दशैँको बेला सिता एयर लाईन्स दुर्घटना भएको याद आयो। प्लेन चरासँग ठोकिएर १९ जनाको मृत्यु भएको थियो। त्यति सानो बच्चाले कस्तो महसुस गरिरहेको होला भनेर कल्पना गर्न सक्ने हिम्मत ममा थिएन। बेकारमा कुरा निकालेछु जस्तो पनि लग्यो| केही बोल्न सकिन।
“अब देखि हामी साथी हुने है?” केहीबेरको सन्नाटा पछि उसले प्रश्न गरी।
मनमा विभिन्न प्रश्नहरु आइरहेको थियो। उसको यस्तो प्रश्न सुनेर जवाफ दिन समेत आएन।
“नत्र म रिसाउँछु है!”
उसको कुराले मलाई हाँसो उठ्यो। “हुन्छ, अब देखि हामी साथी है त।” म हाँस्दै भने।
उसले आफ्नो हात मतिर अगाडी बढाई। म पनि आफ्नो हात उतिर बढाउँदै थिए।
“रेमन!”
अमरको आवाज सुनेर पछाडी फर्किए| ऊ आँखा मिच्दै थियो।
“यति राती के गरिरहेको यहाँ?” सबैतिरको बत्ति पनि बालेर छोडेको छस्। सुत्नु पर्दैन तँलाई? अमर मलाई कराउँदै भन्यो।
“निन्द्र नै लागेन यार, बोर लागेर माथि आएँ। आस्नासँग कुरा गर्दै थिएँ तँ ठ्याक्कै आइपुगिस।”
“को आस्ना? तेरो गर्लफ्रेन्ड त होइन?” ऊ हाँस्दै भन्यो।
“तेरो जोक गर्ने बानी कहिले जाने भएन। ऊ हो आस्ना!” यति भनेर म पछाडी फर्किएँ।
पछाडी कोइ पनि थिएन। यताउता हेरे तर आस्नालाई देखिन। एकैछिन अगाडी त्यहीँ
थियो। ऊ त्यसरी हराउँदा मलाई अचम्म लाग्यो।
“खोइ तेरो आस्ना? भेटिनस्?”
“अघिसम्म यहीँ थियो यार!”
“निन्द्रमा हिँडेपछि जे पनि देखिन्छ| सुत्न हिँड् अब, भोलि बिहान तेरो होस आफै ठीक ठाउँमा आउँछ।”
अमरले मेरो कुरा विश्वास नै गरेन। आस्ना कतै लुकेकी छे कि भनेर फेरी एकचोटी कौसीको सबैतिर हेरेँ तर उसलाई देखिन। म र अमर कुरा गरिरहेको बेला तल गएको होला जस्तो पनि लाग्यो। अमर घरीघरी किचकिच गरिरहेकोले म ऊ सँग हाम्रो रुममा आएँ| त्यो रात त्यसरी नै बित्यो।
भोलिपल्ट बिहान कृष्ण चिच्याएको सुने। हत्तपत्त उठेर यताउता हेरे। उसको आवाज माथि कौसीबाट आउँदै थियो। म दौडिदै माथि कौसीतिर गएँ। त्यहाँ कृष्ण रुँदै कराउँदै थियो।
“के भयो कृष्ण?” मैले आत्तिदै सोधेँ।
कृष्णले बिस्तारै हात उठाएर इशारा दियो। म पछाडी फर्किएर हेरेँ।
भित्तामा रगतको छिटाहरु थियो। मनमा डर लाग्न थालेको थियो तर पनि बिस्तारै अघि बढ्न थालेँ| राती आस्नालाई त्यही ठाउँमा भेटेको थिएँ। अमर आउँदा आस्ना हराएकी थिई। कतै उसलाई मेरो प्रश्नले गर्दा चोट परेर केही त गरिन? मनमा यस्तै कुराहरु खेल्न थाल्यो।
भित्तानिर पुगेपछि कुनातिर रगतको ताल देखेँ| त्यो दृश्य देखेर मेरो शरीर गलेर म भुईँमा बसेँ।
रगतको तालको एक छेउमा अमरको लास थियो।
उसको रगतले भित्तामा लेखिएको थियो……
”म रिसाएँ”
लेखक : रेमन बाला
